एमालेमा नेतृत्व हाँक्ने युवा प्रशस्त छन् : क्षितिज थेवे
काठमाडौं, असोज २ । नेकपा एमालेका युवा सांसद क्षितिज थेवेले पार्टीभित्र नेतृत्व सम्हाल्न सक्ने युवा नेताहरू पर्याप्त रहेको बताएका छन्।
शुक्रबार सिंहदरबार परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै थेवेले एमाले व्यवस्थित पार्टी भएकाले नेतृत्वका लागि युवाको कमी नरहेको दाबी गरे। उनका अनुसार पार्टीले लामो समयदेखि युवालाई विभिन्न तहका कमिटीमा समेट्दै आएको छ।
थेवेले पार्टी पुस्तान्तरणको प्रक्रियामा रहेको उल्लेख गर्दै एमालेले युवाका लागि विशेष कोटा व्यवस्था गरेर केन्द्रीय, प्रदेश तथा जिल्ला कमिटीमा सहभागी गराउँदै आएको बताए।
उनले देशको नेतृत्व गर्न सक्ने युवाहरू एमालेभित्र पर्याप्त रहेको दाबी गरे। युवालाई संगठनको विभिन्न तहमा अवसर दिने विषयमा एमालेले सुरुदेखि नै प्राथमिकता दिएको उनको भनाइ थियो।
गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दललाई राजनीति सिकाउन आएको भन्ने अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै थेवेले नयाँ नेताहरूलाई समय दिएर हेर्नुपर्ने बताए।
उनले गुरुङ मन्त्री बनेको केही महिना मात्र भएको उल्लेख गर्दै राजनीति बुझ्ने र त्यसबारे सिकाउने अवस्थाबारे अहिले नै निष्कर्ष निकाल्नुभन्दा समयसँगै मूल्याङ्कन गर्नुपर्ने धारणा राखे।
थेवेले गृहमन्त्री गुरुङका विगतका अभिव्यक्तितर्फ संकेत गर्दै राजनीतिक भूमिकामा आएको परिवर्तनबारे पनि टिप्पणी गरे। उनका अनुसार गुरुङले यसअघि आफू राजनीतिज्ञ नभएको र राजनीति सिकिरहेको बताएका थिए।
तर अहिले पुराना दललाई राजनीति सिकाउने अभिव्यक्ति आउन थालेको भन्दै थेवेले यस विषयमा जनताले पनि सुनिरहेको र हेरिरहेको बताएका छन्।