माथिल्लो त्रिशुली–१ सुरुङबाट ६ जनाको शव फेला
काठमाडौं, असोज २ । रसुवास्थित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको सुरुङभित्रबाट ६ जनाको शव बाहिर निकालिएको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा आयोजनाभित्र थुनिएर ज्यान गुमाएका उनीहरूको शव नेपाली सेनासहितको उद्धार टोलीले खोजीका क्रममा फेला पारेको हो।
नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले आयोजनाको अडिट–३ सुरुङभित्र खोजी गर्ने क्रममा ढलानका लागि प्रयोग गरिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा शव फेला पारेको जनाएको छ।
सुरुङको संरचना कठिन रहेकाले ग्राइन्डर, ग्यास कटर तथा रोटरी रेस्क्युसहितका प्राविधिक उपकरण प्रयोग गरेर शवहरू बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ।
सुरुङभित्र बाक्लो हिलो र लेदोले पुरिएको अवस्थामा थप शवजस्ता आकृतिसमेत देखिएका छन्। त्यसैले उद्धार टोलीले थप खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।
यसअघि बाढी आएको २२औँ दिनमा उद्धारकर्मीहरूले चिलिमे जलविद्युत आयोजनाको सुरुङ तथा पावरहाउस क्षेत्रबाट पाँच जनाको शव र एउटा मानव अङ्ग खुट्टा फेला पारी बाहिर निकालेका थिए।
भोटेकोशीमा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशुली–१, चिलिमे तथा माथिल्लो त्रिशुली–३ ‘बी’ लगायतका जलविद्युत आयोजनामा ठूलो भौतिक तथा मानवीय क्षति पुगेको छ। बाढीका बेला आयोजना क्षेत्रमा कार्यरत कैयौँ श्रमिक तथा कर्मचारी सम्पर्कविहीन भएका थिए।
हाल नेपाली सेना, स्थानीय प्रशासन, प्राविधिक टोली तथा वैदेशिक उद्धार टोलीको सहकार्यमा विशेष उपकरण, पम्प र तालिमप्राप्त कुकुरको प्रयोग गरी सुरुङभित्र हराइरहेकाहरूको खोजी भइरहेको छ।