सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा जाने लक्ष्य

काठमाडौं, १ असोज । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षण मुद्रणमा नेपाललाई आत्मनिर्भर बनाउँदै अन्तर्राष्ट्रिय बजारमा समेत पहुँच विस्तार गर्न सकिने बताएका छन्।
बिहीबार आयोजित विज्ञहरूको अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले राहदानी, परिचयपत्र, राजस्वसम्बन्धी कागजातलगायत महत्वपूर्ण सुरक्षण सामग्री स्वदेशमै उत्पादन गर्न सुरक्षण मुद्रण केन्द्रलाई सक्षम र व्यावसायिक बनाउनुपर्नेमा जोड दिए।
उनले आधुनिक प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको पालना तथा दक्ष जनशक्तिको विकासमार्फत सुरक्षण मुद्रण केन्द्रलाई प्रतिस्पर्धी बनाउनुपर्ने बताए। नेपालले सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्न सके राज्यका महत्वपूर्ण कागजात तथा सामग्रीका लागि विदेशमा निर्भर रहनुपर्ने अवस्था कम हुने उनको भनाइ थियो।
कार्यक्रममा सहभागी विज्ञहरूले सुरक्षण मुद्रणको प्रविधि, सुरक्षा प्रणाली, नक्कली कागजात नियन्त्रण, अन्तर्राष्ट्रिय साझेदारी तथा बजार विस्तारका सम्भावनाबारे आफ्ना अनुभव साझा गरेका थिए।
कार्यक्रममा सुरक्षण मुद्रणमा प्रयोग हुने कागज, कार्ड तथा डिजिटल प्रविधिमा पछिल्लो समय भइरहेको विकासबारे पनि छलफल गरिएको थियो। विशेषगरी नक्कली कागजातका कारण राज्य तथा नागरिकलाई हुनसक्ने क्षति न्यूनीकरण गर्न आधुनिक प्रविधि र बहुस्तरीय सुरक्षा प्रणाली आवश्यक रहेको विज्ञहरूले बताएका थिए।
त्यसैगरी सुरक्षण मुद्रणका उत्पादनलाई अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुसार तयार गर्ने, नमुना परीक्षण गर्ने तथा आवश्यक मापदण्डअनुसार प्रमाणीकरण र अनुपालन सुनिश्चित गर्ने विषयमा पनि छलफल भएको थियो।
मन्त्री तिमिल्सिनाले सुरक्षण मुद्रण क्षेत्रलाई प्रविधिमैत्री, सुरक्षित र व्यावसायिक बनाउँदै स्वदेशी आवश्यकता पूरा गर्नुका साथै भविष्यमा अन्तर्राष्ट्रिय बजारमा समेत पहुँच विस्तार गर्ने लक्ष्यका साथ अघि बढ्नुपर्नेमा जोड दिए।