काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य घट्यो
उपत्यकामा ग्यासको मूल्य घट्यो
काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य घटेको छ। नेपाल एलपी ग्यास उद्योग संघले कृष्णभीरको सडक खुलेसँगै ग्यासको नियमित आपूर्ति सुरु भएकाले अब अतिरिक्त ढुवानी खर्च नलिने जनाएको छ।
संघका अनुसार शुक्रबारदेखि उपत्यकामा ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा बिक्री गर्न उद्योगी तथा विक्रेतालाई आग्रह गरिएको छ। यसअघि वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा थप १०५ रुपैयाँ ३८ पैसा खर्च लाग्ने भएकाले प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसासम्म बिक्री गर्न भनिएको थियो।
पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए। सडक सञ्चालनमा आएपछि ग्यासका बुलेटहरू नियमित रूपमा काठमाडौं आउन थालेका छन्।
संघले सबै ग्यास उद्योगीलाई नयाँ मूल्यबारे आफ्ना विक्रेतालाई जानकारी गराउनसमेत आग्रह गरेको छ।