नापजाँचको ९ वर्षपछि धनुषाका ३८८ परिवारले पाए लालपुर्जा
धनुषा, असोज २ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
साविक रमदैया भवाडी गाउँपालिका वडा नं. २, ३, ४, ६, ७ र ८ मा स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय परिवारलाई नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरेको हो।
उक्त क्षेत्रमा जग्गाको नापजाँच कार्य २०७४ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा पूरा भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढ्न नसक्दा लालपुर्जा वितरण लामो समयदेखि रोकिएको थियो।
रोकिएको प्रक्रिया अघि बढेसँगै अहिले ३८८ थान जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो। लालपुर्जा प्राप्त भएपछि स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा स्थापित भएको छ।
जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएपछि स्थानीय बासिन्दालाई जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुने तथा जग्गासम्बन्धी विवाद समाधानमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसअघि धनुषामा ३ हजार ९६६ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो।