देउवालाई गगनको आग्रह– पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गरिदिनुस्

देउवालाई गगनको आग्रह– पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गरिदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी असोज १६ गते हुने पार्टीको महाधिवेशन उद्घाटन गरिदिन आग्रह गरेका छन्।

बिहीबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले देउवाले महाधिवेशन उद्घाटन गरिदिए आफूहरूका लागि सम्मानको विषय हुने बताएका हुन्।

थापाले पार्टी विधानअनुसार देउवा अब पुनः सभापति बन्न नमिल्ने उल्लेख गर्दै पूर्वसभापतिको हैसियतमा महाधिवेशन उद्घाटन गर्न आग्रह गरे।

उनले असोज १६ गते काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन हुने जानकारी दिए। त्यसअघि असोज ३ र ४ गते वडा अधिवेशनबाट महाधिवेशन प्रक्रिया सुरु हुने र त्यसपछि नगर, जिल्ला तथा प्रदेश अधिवेशनहरू क्रमशः सम्पन्न गरिने उनको भनाइ छ।

सभापति थापाले पार्टीको एकता कायम राख्न सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिए। राजनीतिक संवादका क्रममा हुने तिखा टिप्पणीलाई व्यक्तिगत रूपमा नलिन पनि उनले आग्रह गरे।

कांग्रेसलाई एउटै परिवारको रूपमा प्रस्तुत गर्दै थापाले पार्टीभित्र छलफल र मतभेद हुनु स्वाभाविक भए पनि त्यसलाई सौहार्दपूर्ण वातावरणमा समाधान गर्दै अघि बढ्नुपर्ने बताए।