राजेन्द्र महतो नेतृत्वको पार्टीबाट नौ नेताको सामूहिक राजीनामा
उनीहरूले शुक्रबार शान्तिनगरस्थित पार्टीको केन्द्रीय कार्यालय पुगेर आजकै मितिदेखि लागू हुने गरी राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा दिनेमा महासचिव केशव कुमार झासहित केन्द्रीय सदस्यहरू चन्द्रानन्द मिश्र, पंकज कुमार देव, हि
रालाल मण्डल, अनुपम झा, रिषिका जलान, कुमारी तामाङ, ललन मिश्र र शैशव राजु रहेका छन्। उनीहरूले राजीनामा पत्रमार्फत पार्टी नेतृत्व तथा अध्यक्ष राजेन्द्र महतोको आगामी राजनीतिक यात्राका लागि शुभकामनासमेत व्यक्त गरेका छन्।
राजीनामा दिनुको कारणबारे उनीहरूले पुरानो राजनीतिक शैली र पुराना व्यक्तिहरूबाट अब देशको राजनीति अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगेको बताएका छन्।
महासचिव झाले मातृभूमिको आवश्यकता र वर्तमान परिस्थितिलाई सम्बोधन गर्ने वैचारिकी तथा बलियो अर्थराजनीतिक आधारसहित अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।
राजीनामा दिएका नेताहरूले सामाजिक–सांस्कृतिक चेतना विस्तारका लागि अभियान सञ्चालन गर्ने, राजनीतिक चेतनाका लागि संघर्ष गर्ने तथा आर्थिक चेतनाका लागि विद्रोहको तयारी गर्ने रणनीति अघि सारेका छन्।
उनीहरूले विचारसहितको विकल्प र विकल्पसहितको विद्रोहका लागि आगामी राजनीतिक यात्रा ‘हुंकार मधेस अभियान’ मार्फत अघि बढाउने बताएका छन्।