डिभाइडरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
सुनसरी, २ असोज । इटहरी उपमहानगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार आज बिहान तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई सडकमा राखिएको डिभाइडरमा ठोक्किएको थियो। दुर्घटनामा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राई गम्भीर घाइते भएका थिए।
उपचारका लागि विराट शिक्षण अस्पताल लगिएका राईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका छन्। उनको विराट शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको प्रारम्भिक कारण तीव्र गति र मोटरसाइकल अनियन्त्रित हुनु देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।