शव नभेटिएपछि कुशको शरीर बनाएर नौ जनाको अन्तिम बिदाइ

रामेछाप, २ असोज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका सिन्धुलीको कमलामाई नगरपालिका–११ का नौ जनाको बिहीबार सामूहिक अन्तिम संस्कार गरिएको छ। लामो समयसम्म खोजी गर्दा पनि उनीहरूको शव फेला नपरेपछि परिवारजनले धार्मिक तथा सामाजिक परम्पराअनुसार कुशबाट प्रतीकात्मक शरीर बनाएर अन्तिम बिदाइ गरेका हुन्।
कमलामाई नगरपालिका–११ स्थित बिसारेबेँसीमा आफन्त, परिवारजन र स्थानीयवासीको उपस्थितिमा सामूहिक अन्त्येष्टि गरिएको हो। आफ्ना प्रियजनको पार्थिव शरीर नहुँदा पनि परिवारजनले कुशबाट बनाइएको आकृतिलाई नै अन्तिम रूप मानेर श्रद्धाञ्जली अर्पण गरेका थिए।
बाढीले प्रियजन गुमाएका परिवारले अन्तिम पटक अनुहार हेर्न, शरीर छुन तथा काँधमा बोकेर घाटसम्म लैजानसमेत पाएनन्। लामो समयसम्म शव भेटिने आशामा रहेका परिवारले अन्ततः प्रतीकात्मक शरीर बनाएर अन्तिम संस्कार गर्नुपरेको हो।
सामूहिक दाहसंस्कारमा बाढी प्रभावित परिवारका सदस्य, आफन्त तथा स्थानीयवासी सहभागी थिए। उनीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरे।
बाढीमा परी बेपत्ता भई कुशको शरीर बनाएर अन्तिम संस्कार गरिएकामा राजकुमार श्रेष्ठ, बुद्धि विश्राम थिङ, लक्ष्मण सापकोटा, बलबहादुर माझी, सोमबहादुर माझी, भरतबहादुर माझी, बखतबहादुर माझी, टंकबहादुर श्रेष्ठ र विष्णुबहादुर श्रेष्ठ रहेका छन्।
त्यसैगरी प्रेमकुमार घलानको पनि बाढीमा परी ज्यान गएको थियो। उनको भने केही दिनअघि कुशको प्रतीकात्मक शव बनाएर अन्तिम बिदाइ गरिएको थियो।
भोटेकोशी बाढीपछि बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य जारी रहे पनि कतिपयको अवस्था अझै यकिन हुन सकेको छैन। शव फेला नपरेपछि परिवारजनले धार्मिक परम्पराअनुसार प्रतीकात्मक अन्त्येष्टि गर्न बाध्य भएका हुन्।